मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौं, कात्तिक ३ :

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

खोलियो हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर  

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । आज बेलुका ६ बजेसम्म भक्तजनका लागि मन्दिर खुला नै राखिने दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिईन्।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।मूलचोक मै सोमबार महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार