मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

यात्रुहरु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौं, कात्तिक ३ :

बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष रहेका छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए ।

दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने ।

चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार