विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताएका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुरमा स्थानीयवासीसँगको साक्षात्कार कार्यक्रममा नवप्रवर्तन, प्रविधिको उपयोग र कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सरकारले काम गरिरहेको बताए ।
मन्त्री पुनले नयाँ मन्त्रालय स्थापना भएको र आवश्यक कानुनको अभावमा प्रारम्भमा केही चुनौती भए पनि त्यसलाई पार लगाउँदै सरकार समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको बताए ।
“कानून निर्माणका प्रक्रिया केही जटिल र समय लाग्ने भए पनि अध्यादेशबाट कानुनी बाटो खोलिएको छ । अब मन्त्रालयले आफ्ना योजना र अनुसन्धानका कामलाई तीव्रताका साथ अघि बढाउनेछ,” मन्त्री पुनले भने ।
मन्त्री गौतमले लोकतान्त्रिक शासन व्यवस्थामा जनता सर्वोपरि हुने र जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताइन् । सुशासन र विकासका खातिर चाँडोभन्दा चाँडो आवश्यक कानुन तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरिन्।
उनले १६५ वटा कानुन निर्माणको लक्ष्यसहित सदनलाई विवरण बुझाइसकिएको तथा ५४ वटा कानुनका मस्यौदा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्तुत भएका जानकारी दिइन् । नवप्रवर्तनसम्बन्धी कानुन पनि चाँडै सदनमा प्रस्तुत गरिने मन्त्री गौतमले बताइन् ।