बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दशैँको टीका : कतै रौनक, कतै सुनसान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
दशैँको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौं, कात्तिक ४ :

आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोल टोलमा दसैँका गीत गुञ्जिरहेका छन् ।

“आउँथ्यो दशैँ आउन त पहिला नि,
यस्तो मज्जा भा’थे’न कहिल्यै नि...”

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ‘लिपसिङ’ मिलाउँदै टिकटकमा रमाउनेहरू पनि कम छैनन् । तर ठीक यसको उल्टो, ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपाली भोटेकोशी बाढीपीडितले भोग्नुप¥यो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार गुमाएका र आफन्त गुमाउनेहरूका लागि यस वर्षको दशैँजस्तो पीडादायी दशैँ सायद पहिला कहिल्यै भएन होला ।

आज दशैको टिका, कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन् । कतै आफन्तको हातबाट टिका जमरा लगाउँदै आशिर्वाद लिन भ्याईनभ्याई छ होला । तर कतिको आशिर्वाद दिने आफन्त नै बाढीले बगायो । बाढीका कारण वेपत्ता हुने आफन्तको कहिकतैबाट फर्कि पो आउने हुन् कि भन्ने प्रतिक्षा गर्न पनि छाडेको छैन मन । कतै घरमा दसैँको रौनक छ, कसैको घर नै छैन । कतै गाउँमा रमझम बढिरहेको बेलामा कतै गाउँ नै बगर बनेको छ ।

विनाशकारी बाढीले घरबार र सम्पत्ति मात्र बगाएन । त्योभन्दा पिडादायी परिवारका सदस्य र आफन्त गुमादा भयो । बाढी गएदेखि नै कयौ प्रभावित परिवारलाई पीडा बिर्सन मुस्किल भएको छ । वर्षदिनमा एकपटक आउने दसैँले समेत उनीहरूको मनमा खुसी फर्काउन सकेन ।

नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दसैँले विगतका वर्षभन्दा बढी पीडा दिएको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसिएका छन् । यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ ।

“यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दसैँमा टीका लगाउने त कुरै भएन,” उहाँ भन्नुहुन्छ, “टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दसैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन् । दसैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन ।”

दसैँमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ । तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ वडाअध्यक्ष नेपाललाई । अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर मन भक्कानिएको छ उनको ।

विदुर नगरपालिकाकै वडा नं ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन । तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ । आफ्नो घर सुरक्षित रहेपनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दसैँको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन् ।

“गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो । दसैँको रौनक नै अर्कै हुन्थ्यो,” उनी भन्छन्, “यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दसैँको उत्साह छैन ।”

दसैँ आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो । त्यसैले आफ्नो छिमेकीको आँसु देखेर रमाउन सकिँदैन । यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन् । बाढीले प्रत्यक्ष क्षति नपु¥याएको बस्तीमा समेत दसैँको उल्लास पहिले झैँ फर्किन सकेको छैन ।

रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दसैँ कहिल्यै अनुभव गर्नुभएको थिएन । बाढीले आफन्त र गाउँले गुम्यो । उनको सम्पत्ति बगायो । गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हराएको छ ।

“आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,” उहाँ भन्नुहुन्छ, “ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ । दसैँ आएको हो कि गएको हो, त्यसको महत्त्व नै छैन ।”

विगतका वर्षमा दसैँ नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो । यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भयो । उनलाई आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दसैँ फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि सताएको छ ।

उत्तरगया गाउँपालिका कै अर्का स्थानीय सपना तामाङलाई पनि यसपटक दसैँ आएको अनुभूतिसमेत हुन सकेको छैन् । विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दसैँ यस वर्ष पीडा र बिछोडका सम्झना लिएर आएको उनको अनुभव छ । चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन्, तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ ।

बाढीको प्रत्यक्ष मारमा परेका परिवारको पीडा आफ्नै ठाउँमा छ । तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दसैँ सहज छैन । कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ । एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दसैँमा भेटघाट गर्दै आएका मानिसहरू नहुँदा चाडको रौनक हराएको छ ।

गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दसैँमा जस्तो चहलपहल छैन । घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन् ।

रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठूलो सङ्ख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ ।

यस वर्ष गाउँमा दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको बताउँछन् सोही वडाका वडाध्यक्ष दीपक पाण्डे । “यसपटक पहिलाको जस्तो दसैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,” उनी भन्छन् ।

दसैँमा गाउँ फर्किनेहरूका लागि घर मात्र गन्तव्य हुँदैन, त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन् ।  तर, यसपटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन । सँगै दसैँ मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी नै छैन ।  

दसैँको टीका निधारमा लगाइने रङ मात्रै नभएर आफन्तबीचको सम्बन्ध, माया र आशिर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ ।

एकातिर देशभर दसैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि यसपटक दसैँ आएको छ, तर दसैँको खुसी आएको छैन । यस वर्षको दसैँले यही फरक फरक अनुभूति उजागर गरेको छ- कतै रौनक छ, कतै सुनसान । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार