आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश शिक्षा

मन्थलीमा आठ विद्यालयका १०२ छात्रालाई छात्रवृत्ति,दुई शिक्षक सम्मानित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १९ मिनेट अगाडि प्रकाशित
मन्थलीमा आठ विद्यालयका १०२ छात्रालाई छात्रवृत्ति,दुई शिक्षक सम्मानित
रामेछाप, कात्तिक ८ :

रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।  मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उनको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

सानिमदौस्थित सामुदायिक भवनमा आइतबार आयोजित कार्यक्रममा २६ छात्रालाई पूर्ण र ७६ छात्रालाई आंशिक छात्रवृत्ति प्रदान गरिएको छ। आर्थिक अभावका कारण अध्ययनमा समस्या भोग्न सक्ने छात्रालाई सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो। 

पूर्ण छात्रवृत्ति पाउने क्याम्पस तहका छात्रालाई जनही १८ हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम प्रदान गरिएको छ। विद्यालय तहका पूर्ण छात्रवृत्ति प्राप्त गर्ने छात्रालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्र्याकसुट, ब्याग तथा कापी–कलम उपलब्ध गराइएको छ।

त्यस्तै, आंशिक छात्रवृत्ति प्राप्त गर्ने छात्रालाई ट्र्याकसुट, ब्याग तथा वर्षभरिका लागि आवश्यक कापी–कलम प्रदान गरिएको आयोजकले जनाएको छ।

यस वर्ष मन्थली माध्यमिक विद्यालय, भैरवी माध्यमिक विद्यालय सुनारपानी, तामाकोसी क्याम्पस खिम्ती, सेतीदेवी माध्यमिक विद्यालय सालु, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोक, रामेछाप बहुप्राविधिक शिक्षालय मन्थली, सहिद स्मृति क्याम्पस मन्थली र मन्थली स्काउटमा आबद्ध छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो।

यसैबीच, विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्‍याएका दुई शिक्षकलाई पनि नगदसहित सम्मान गरिएको छ। गणित विषयमा कमजोर विद्यार्थीलाई उत्कृष्ट अंक ल्याउन सक्षम बनाउन निरन्तर मेहनत गर्दै आएका खाडादेवी माध्यमिक विद्यालय, चोप्राङका गणित शिक्षक सुबोध यादव र पशुपति माध्यमिक विद्यालय, भुलभुलेका अंग्रेजी शिक्षक प्रलाद खत्रीलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

छात्रवृत्ति तथा शिक्षक सम्मानमार्फत विद्यार्थीको शैक्षिक विकास र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने विश्वास गरिएको छ। श्याम सुवेदी  तथा उनको परिवारले विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले विगत ११ वर्षदेखि निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार