इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अनसनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत आज बिहान काठमाडौं ल्याइएको हो ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचार हुने केसीका सहयोगी पवन थापाले जानकारी दिए ।
टाइप २ मधुमेहका बिरामी रहेका डा केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप र विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।
विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायण स्थान मन्दिर परिसरमा अनशनमा बसेका थिए । डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन, सरकारी संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नेलगायत ६ बुँदे माग राखेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी इलाम अस्पतालमा उपचाररत थिए ।