
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै उहाँले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकहरू कृषि कर्म गर्ने किसानका अभिभावक भएकाले उहाँहरूसँग निरन्तर साक्षात्कार गरेर प्रविधिसँग जोड्न सहजीकरण गर्न आग्रह गर्नुभयो ।
मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न प्रयास गरेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
उहाँले नार्क आफैँमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद भएको टिप्पणी गर्दै आत्मालोचना, आत्ममूल्याङ्कन र आत्मसमीक्षा गरेर आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गर्नुभयो ।
कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा समीद अहमदले हाल दुई स्थान ठाकुरबाबा- ३ मिर्चैया बर्दिया र शिवराज- ३ सोनवर्षा कपिलवस्तुमा अनुसन्धान केन्द्र विस्तार गरिएको जानकारी दिनुभयो ।
निर्देशक अहमदका अनुसार आर्थिक वर्ष २०७९- ८० देखि निर्देशनालयले लमही- २ केरुनिया दाङमा नार्क प्रविधि गाउँ सञ्चालन गरिएको छ । उहाँले जनशक्तिको चरम अभाव व्यहोरिरहेको जानकारी गराउनुभयो ।
खजुरामा रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गर्नुभयो ।