
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराउनुभएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आज मनोनयन हुनुभएका १८ सदस्यलाई शपथग्रहण गराउनुभएको हो ।
कार्यक्रममा सभापति देउवाले उद्देश्यअनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिनुभयो ।
शपथ ग्रहणपछि पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काको सभापतित्वमा प्रतिष्ठान कार्यसमितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
बैठकमा प्रतिष्ठान प्रमुख एवं उपसभापति खड्काले जिम्मेवारी ग्रहण गरिसकेपछि आत्म अनुशासनमा बस्न ध्यानाकर्षण गराउँदै पार्टीलाई सङ्गठित,अनुशासित बनाउँदै समयसापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानका रुपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको विषयलाई जोड दिनुभएको थियो ।
बैठकले प्रतिष्ठानमा हाल उपलब्ध प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गरी आगामी कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुखलाई प्रतिवेदन बुझाउने गरी कार्यसम्पादन गर्ने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि आवश्यक परामर्श गरी तत्काल उपसमिति गठन गर्ने जिम्मेवारी प्रतिष्ठान प्रमुखलाई दिएको छ ।
बैठकमा प्रतिष्ठानले अहिलेसम्म गरेका कामको समीक्षा गर्दै नीति,अनुसन्धान र प्रशिक्षण क्षेत्रलगायत विविध विषयमा छलफल भएको थियो ।
बैठकमा प्रतिष्ठानका सदस्यहरू कविराज पण्डित,डा जगदीशचन्द्र पोखरेल,छन्दबहादुर पहराई,विजुला वर्मा,बलदेव तिमिल्सिना,डा कृष्णप्रसाद पौडेल,भरतप्रसाईँ, इञ्जिनियर कमल कार्की,प्रताप पौडेल र भवानी शर्माले आ–आफ्ना विचार राख्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत कात्तिक ५ गते प्रतिष्ठान प्रमुख खड्काले १८ जनालाई सदस्यमा मनोनीत गर्नुभएको थियो । प्रतिष्ठानको अर्को बैठक आगामी कात्तिक २८ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले बताएको छ ।