सुदूरपश्चिम, कात्तिक १७ :

सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ । 
  
पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो । 
  
यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका- ६, डोटीको पूर्वीचौकी गाउँपालिका- ६, बझाङको सुर्मा गाउपालिका- ४ र दार्चुलाको दुहु गाउँपालिका- ५को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।

डोटीको पूर्वीचौकी- ६ र कञ्चनपुरको भीमदत्त- ६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो । बझाङको सुर्मा- ४ र दार्चुलाको दुहु- ५मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो ।
  
उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको भट्टले बताउनुभयो ।

वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणाम समेत घोषणा गर्नेगरी तयारी भइरहेको छ ।
  
सुदूरपश्चिम प्रदेश सहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख/ उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुन लागेको हो । 

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
  
यसैबीच रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ ।

काँग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका- २ को वडा सदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरेको छ ।

रिक्त भीमदत्त- ६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी- ६मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय पार्टीले गरिसकेको अन्य ठाउँको उपनिर्वाचनका प्रत्यासीको निर्णय हुन बाँकी रहेको रावतले जानकारी दिनुभयो ।