
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ ।
म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडा च्याङ्ग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ।
दशैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा बिक्री भएको हो ।
जडिवुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ ।
गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारीले यसपालि प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरूबाट खरिद गरेका छन् ।
गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ ।
गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।