काठमाण्डौं, कात्तिक २८ :

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

पुर्व प्रदेशमन्त्री अधिकारी सहित मानव तस्करी गरेको आरोपमा दावा शेर्पा,जनक राई,कञ्चन देवकोटा,महेश पाण्डे, जुगल रिजाल,वीरबहादुर सुनार,गुड्डी राई र नविन राईलाई समेत ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको हो ।  फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर मानव तस्करी गरेको आरोप उनीहरुलाई लगाईएको छ ।

कार्तिक ११ गते  जापान गएका उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै डिपोर्ट गरेको थियो ।खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जापानबाट डिपोर्ट भएकाहरुको नक्कली कागजात बनाउने कार्यमा संलग्न भएको अभियोगमा थप दुई जनालाई बागबजारबाट पक्राउ गरिएको हो ।  

पक्राउ परेका नवीन राई र गुड्डी राईले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बनाइ दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 

जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीहरुलाई अनुसन्धान गरिरहेको छ ।