मुगु, मंसिर १ :

रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । 

समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा परेका हुन् । 

रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले केही दिनअघि सबै हवाइजहाज पूर्वी क्षेत्रतर्फ पर्यटक ल्याउन व्यस्त भएका कारण रारा विमानस्थलका उडान प्रभावित भएको बताउनुभयो ।

स्थानीयवासीहरूले हवाई कम्पनीलाई रारा विमानस्थलमा नियमित उडान सञ्चालन गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकीय जिल्ला भएकाले दैनिकजसो उडान विगतमा भइरहने भए पनि पछिल्लो समयमा उडान अनियमित हुँदा जिल्ला बाहिर जाने बिरामी, विद्यार्थी लगायत अन्य समस्यामा परेका छन् ।

सबै जहाजहरूले रारामा हप्तामा एक दुईवटा मात्रै उडान भर्दै आएका छन् ।

नियमित उडान नहुँदा रारा घुम्न पुगेका आन्तरिक तथा बाह्य पर्यटक समेत प्रभावित भएका छन् ।