.jpeg)
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले स्वर्गीय एन डी प्रकाश चटौतको योगदान देशले सम्झनलायक रहेको बताउनुभएको छ ।
स्वर्गीय एन डी प्रकाश चटौतको ९५औं जन्मजयन्तीको अवसर पारेर आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले स्वर्गीय चटौतले देखाएको बाटोमा नै नेपाली काँग्रेस अघि बढेको उल्लेख गर्नुभयो ।
'स्वर्गीय चटौत र उहाँको डायरी' नामक ग्रन्थको विमोचन गर्नुहुँदै सभापति देउवाले धनगढी विमानस्थलको नाम स्वर्गीय एन डी प्रकाश चटौतको नामबाट नामाकरण गर्न आफूले पहल गर्ने पनि बताउनुभयो ।
स्वर्गीय चटौतले नेपाली काँग्रेसका संस्थापक नेताहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णसमशेर लगायतसँग प्रभावकारी युवा नेताको रुपमा काम गरेर चर्चा कमाउनुभएको थियो ।
तत्कालिन समयमा जहानियाँ राणा शासनविरुद्धको आन्दोलनमा युवा नेताको रुपमा उहाँले भूमिका निर्वाह गर्दा उहाँ नेपाल र भारत दुबै देशमा चर्चित हुनुभएको थियो ।
१८ बर्षको उमेरमै प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका चटौत सोही बेलादेखि नेपाली काँग्रससँग आवद्द भएर राजधानी काठमाडौँमा हुने संगठन जुलुश र प्रचार प्रसारको काममा लाग्नुभएको थियो ।
आधुकिन चेत र प्रगतिशील सोच भएका उनी राष्ट्र र समाजमा व्यापक परिवर्तनका पक्षधर थिए ।
जन्म विसं १९८७ सालमा जन्मनुभएका प्रखर वक्ता चटौतको २७ बर्षको उमेरमा नै विमान दुर्घटनामा निधन भएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाकालदेखि नै नेपाली काँग्रेसले लिएको कृषि क्रान्ति, भूमिसुधार, शिक्षा र स्वास्थ्य क्षेत्र र छुवाछुत एवं भेदभाव विरुद्ध डटेर लाग्नुभएको थियो ।
नेता र कार्यकर्ताको नीति र व्यवहार पार्टीको सिद्धान्त अनुसार हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
कार्यक्रममा एन डी प्रकाश चटौत काँग्रेस भित्र छोटो अवधिमा स्थापित पात्र भएपनि उती चर्चामा भने उहाँको नाम नआएको कतिपय बक्ताहरुको भनाइ थियो ।
यो पुस्तकको संयोजन उहाँका सहदोर भाइ डा भुवनेश्वरी दत्त चटौतले गर्नुभएको हो ।