साउन २३ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेको बताउनुभयो । सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा  प्रभावकारी काम गर्नुपर्छ भन्ने रहेको उपप्रधानमन्त्री सिंहको भनाई छ ।

उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिनुभएको थियो ।