काभ्रे, साउन २३ :

अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका-११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग आज बिहान ११:१५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ ।

वर्षामा उक्त स्थानमा यस अघि पनि राजमार्ग अवरुद्ध हुँने गरेको थियो । यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । 

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले माथिबाट आएको पहिरोका कारण अवरुद्ध उक्त सडक नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुवैतर्फ खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उक्त राजमार्गमा स-साना पहिरो गइरहने भएकाले तत्काल पहिरो पन्छ्याउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको छ ।