काठमाडौँ, साउन २३ :

सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक(डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो । 

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि पत्रकारसँग भन्नुभयो, “नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव) अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।” सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

    प्रवक्ता गुरुङले भन्नुभयो, “नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।” उहाँका अनुसार नेपाल प्रहरी तर्फका एआइजीहरूको सरुवा तथा पदस्थापना गरिएको मन्त्री गुरुङको भनाइ छ । 

मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको गरेको छ ।