
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुने भएको छ ।
मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।
नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
यसपटक अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरिएको छ । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुने निर्देशक क्षेत्रीले भन्नुभयो ।
माघ पहिलो साताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताउनुभयो ।
यस अगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रुपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधा अन्तर्गत सहभागी हुनेछन् ।
आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रिया लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।