काठमाण्डौँ , मंसिर १३ :

काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकनवानपुर बकैया गाउँपालिका- ५ घर भई हाल काठमाण्डौँ नागार्जुन नगरपालिका- ५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका- ३ घर भई हाल काठमाण्डौँ टोखा नगरपालिका- ८  बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो ।

यसैगरी पक्राउ परेका मध्ये बलले एकजनालाई क्रोएसिया पठाउने भन्दै १५ लाख तथा मनिषाले एक जनालाई दुवई पठाउने भन्दै दुई लाख ४५ हजार रकम लिएको खुल्नमा आएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

दुवै जनालाई काठमाण्डौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।