काठमाण्डौँ , मंसिर १३ :

नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, नेपालगञ्ज, बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।

केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै सो बैङ्कले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा बैङ्कले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले उक्त रोक लगाएको जनाएको छ ।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैङ्कले जनाएको छ । 

नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा उक्त कारवाही गरिएको हो । सो कारवाही आजैका मितिदेखि लागू हुनेछ । 

डेभलपमेन्ट बैङ्कले थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।