
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको चार सय केभी (२९७ किलोमिटर) विद्युत् प्रसारण लाइनका लागि विस्तृत खरिद प्रस्ताव आह्वान गरिएको छ ।
एमसीए नेपालले आज सूचना जारी गर्दै प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो ।
पहिले गरिएको बोलपत्रमा लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदै छ ।
प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी- रातमाटे- न्यू हेटौँडा खण्ड, दोस्रो लटमा रातमाटे- न्यू दमौली खण्ड र तेस्रो लट अन्तर्गत न्यू दमौली- न्यू बुटवल तोकिएको छ ।
नयाँ रातमाटे सबस्टेशन निर्माणको लागत ६ अर्ब ८८ रुपैयाँभन्दा बढी छ । यो पूर्वाधारले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेशनहरूबीच विद्युत् प्रसारणका लागि ‘महत्त्वपूर्ण सेतुका रूपमा’ काम गर्ने एमसीए नेपालले जनाएको छ ।
एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुनेछन्।
बोलपत्र दाखिला गर्ने अन्तिम मिति २०८१ साल माघ १७ गतेसम्म तोकिएको छ ।