दार्चुला, मंसिर १३ :

महाकाली लोकमार्ग अन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको निरीक्षण गरिएको छ ।

दार्चुलामा नेपाली सेनाले तिंकर सडकको निर्माण गरिरहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट रक्षामन्त्री मानवीर राई,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडु, नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल,भौतिक र रक्षा मन्त्रालयका सचिवको टोलीले निर्माणाधिन सडकको निरिक्षण गरेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट दार्चुलाको व्यास गाउपालिका ४ सुन्सेरा अवतरण भई व्यास गाउपालिका १ छाङरु सम्म हेलिकप्टरबाट तिङकर सडकको निरिक्षण गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिनुभयो ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको सो सडकको ७९ किलोमिटर मध्ये अहिले सम्म १३.५९ किलोमिटर सडकको ट्रयाक खुलाईएको छ । 
सडक निर्माणमा बजेट अभाव देखिएको छ । बजेट अभावकै कारण तिंकर सडक तीब्र गतिमा अगाडि बढ्न सकेको छैन । चालु आर्थिक बर्षमा तिंकर सडकमा ८ करोड रकम मात्रै छुट्टयाईएको छ ।

वि.सं २०६५/६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । महाकाली लोकमार्ग महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव, डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ ।

यस सडक खण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ । जसअनुसार महाकाली करिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला–तिंकर सडक खण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला–तिंकर सडक खण्डमध्ये ४७ किलोमिटर सडक खण्ड महाकाली लोक मार्गले निर्माण गर्नेछ ।

कैलाश मानसरोबर जोड्ने छोटो दूरीको यो सडक धार्मिक पर्यटकिय दृष्टिकोणले पनि महत्वपुर्ण मानिन्छ । साथै अन्तर्राष्ट्रिय व्यापारिक महत्त्वका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको छ ।