
जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाईको माग गर्दै विपक्षी समर्थकले गरेको प्रदर्शन स्थगन गरिएको छ ।
प्रदर्शनकारीले खानको रिहाई नभएसम्म राजधानी नछोड्ने प्रतिबद्धता जनाएका थिए । तर मंगलबार डेमोक्रेसी स्क्वायरतर्फ जाँदै गर्दा प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो ।
आइतबारदेखि सुरु भएको पछिल्लो प्रदर्शनका क्रममा भएको झडपमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारणगरी कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आज एक विज्ञप्ति जारी गर्दै सरकारको बर्बरताका कारण प्रदर्शन अस्थायी रूपमा स्थगन गरिएको जनाएको छ ।
पीटीआईले सुरक्षा बलले मध्य इस्लामाबादमा कार्गो कन्टेनरको छतमा बसेका एक व्यक्तिलाई धकेलेको आरोप लगाएको छ।उक्त पार्टीले ती व्यक्ति कन्टेनरमा प्रार्थना गरिरहेको बेला एक सशस्त्र अर्धसैनिक अधिकारीले उनलाई निर्ममतापूर्वक कन्टेनरको छतबाट धकेलेको बताएको छ।
खानका समर्थकहरू मंगलबार शहरको केन्द्रमा पुग्न सफल भए तापनि साँझसम्म अधिकारीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पारेका थिए।