काठमाडौँ, साउन २४ :

आज चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको सभापति बिमला सुवेदीले जानकारी दिनुभयो । 

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जंगली जनावरबाट कृषि तथा मानव जनधनमा भइरहेको क्षतिका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।