
बालाचतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
विगतका वर्षमा कैलाश लगायत स्थानमा पसल राख्न दिँदा दिवङ्गत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । तोकिएका स्थान बाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उहाँले जानकारी दिनुभयो ।
बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार एक सयका दरले शुल्क लिएको छ ।
भोलि शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यवस्था गर्ने भएको छ ।
यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरि पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारी साधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालन लगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।