सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ ।
पूर्व- पश्चिम राजमार्गस्थित बागमती नगरपालिका- १२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले बुधबार प्रदेश १- ०१- ००१ ख ४१९० नम्बरको ट्रकबाट बिल बिजक भन्दा अधिक २० लाख ७५ हजार पाँच सय २७ बराबरको चिनियाँ लसुन बरामद गरेको छ।
यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना७ ख ९४६५ नम्बरको कन्टेनरबाट अवैध रूपमा ल्याइएका मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ । प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिल बिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो ।
बरामद ती सामान ६५ लाख ८६ हजार नौ सय ६१ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
ट्रक र कन्टेनरका गरी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ ।