काठमाण्डौँ , मंसिर १४ :

नेपाल विद्युत प्राधिकरणले बिजुलीको बक्यौता महसुल नतिर्ने ३४ उद्योगको शेयरदेखि बैङ्क खातासम्म रोक्का गर्न तालुक निकायमा पत्राचार गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णय अनुसार दिइएको पछिल्लो म्यादमा पनि महसुल नतिरेपछि प्राधिकरणले महसुल नतिरेका उद्योगीको लगानी रहेको ऊर्जा आयोजनाको विद्युत खरिद सम्झौता बमोजिम भुक्तानी गर्ने रकमबाट कटौती गर्न पत्राचार गरेको हो ।

यस्तै, महसुल नतिरेका कम्पनीको शेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि प्राधिकरणले पत्र पठाएको छ ।

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डलाई पनि विद्युत महसुल भुक्तानी नभएसम्म ती कम्पनीलाई सर्वसाधारणतर्फको शेयर जारी गर्ने इजाजत रोक्न पत्राचार गरेको छ ।

प्राधिकरणले त्यस्ता उद्योगको बैँक खाता समेत रोक्का गरिदिन नेपाल राष्ट्र बैँकलाई पनि पत्र पठाएको छ । यी सबै पत्राचारबारे प्राधिकरणले विद्युत नियमन आयोगलाई पनि जानकारी गराएको जनाएको छ ।