काठमाण्डौँ , मंसिर १४ :

भक्तपुरको गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भक्तपुरबाट काठमाण्डौँ आँउदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ आइरहेको बा. प्र. ०२- ०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इनटरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएको र उनको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुरगढी- ४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको जनाएको छ ।