काठमाण्डौं, मंसिर १४ :

बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।

विगत वर्षमा कैलाश लगायत स्थानमा पसल राख्न दिने गरिन्थ्यो ।यस बर्ष भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषले जनाएको छ । 
 

सो क्षेत्रमा पसल राख्दा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।

तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।

दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १ सयका दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

यसैबीच पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि  कोषले जनाएको छ ।