काभ्रे, मंसिर १४ :

नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । 

अभियान अन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर- आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । 

पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका एक सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् ।

अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापति बाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्र अनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।
 
पार्टी विधान बमोजिम तोकिएको सदस्यता सम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान  सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ । 

यसैगरी पालिका- काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ ।