
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोत भित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उहाँले अपुग स्रोतकै कारण चाहेका कति कार्यक्रम लागू गर्न नसकिएको भन्दै राज्यले छुट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले भएकै बजेट पनि उचित कार्ययोजना नभएका कारण खर्च हुन नसकेको बताउनुभयो ।
सर्वसाधारणले अस्पतालको सेवा विश्वास गर्ने हुनाले अस्पतालको सरसफाइमा ध्यान दिन, कुन सेवा कति शुल्क लिने भनेर खुलाएर वेबसाइट वा बोर्डमा राख्न, स्वास्थ्यकर खाना खुवाउनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री पौडेलले अस्पताललाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन प्रयत्न गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।
वार्षिक रुपमा हुने यो समीक्षा बैठकमा गत आर्थिक वर्षका उपलब्धि र प्रगतिको समीक्षा एवं भावी योजनाका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा लगायतका पदाधिकारीको उपस्थिति रहेको छ ।
बैठक भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।