
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ ।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो ।
पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताउनुभयो ।
स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उहाँको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उहाँले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो ।
सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताउनुभयो ।