काठमाण्डौँ , मंसिर १४ :

निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । 

आयोगको आज बसेको बैठकपछि विज्ञप्तिमा जारी गर्दै निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शङ्कास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ । 

निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्का लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिइएको आयोगले जनाएका छ । 

आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको उल्लेख छ ।

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।