
विद्युत सट भई लागेका आगोबाट कालिका गाउँपालिका वडा नं १ ग्राङ इलाका क्षेत्रमा आज तीन घर जलेर नष्ट भएको छ ।
आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगद समेत जलेर नष्टहुँदा करिब २७ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भटृराईले जानकारी दिनुभयो ।
भौगोलिक हिसावले विकटवस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ मेन्दो तामाङको घरमा आज बिहान विद्युत सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ ।
सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मौजुदा विद्युत् ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ति बाल्न नपाइने कानूनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँवस्तीमा यो नियम पालना भएको देखिदैन ।
घरमा विद्युत सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साविक राम्चे गाविस वडा नं ३ तथा हाल कालिका गाउँपालिका वडा नं १ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक एवं प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो ।