काठमाण्डौँ , मंसिर १५ :

खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी वाग्मती नदीमा छाड्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

केन्द्रबाट नदीमा नियमित रूपमा पानी प्रवाह गरेर पवित्र वाग्मती नदी सफा राख्ने कार्यमा लाग्न मन्त्री यादवले निर्देशन दिनुभएको हो । सुन्दरीजलको प्रशोधन केन्द्रको पानी दैनिक रूपमा वाग्मती नदीमा छाड्न र मेलम्चीको पानीले वाग्मती नदी पनि सफा हुनुपर्ने उहाँको भनाइ छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मन्त्रीको निर्देशनसँगै नदी प्रवाहमा सहयोग गर्न केन्द्रको पानी वाग्मतीमा छाडिएको बताउनुभयो । बिहिबारदेखि करिब चार करोड लिटर पानी वाग्मतीमा छाड्न थालेको उहाँले बताउनुभयो ।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले शुक्रबार बाला चतुर्दशी पर्वका अवसरमा कैलाश क्षेत्रमा मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरि पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको थियो ।