मकवानपुर, मंसिर १५ :

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । 

बिहान सवा ६ बजेको समयमा हेटौँडा बजारबाट चुच्चे खोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं. को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताउनुभयो ।

अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।