
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।
काठमाण्डौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
उहाँले सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टिकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रुपमा घोषणा गरेको र यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्ट द्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई जलन उपचारसम्बन्धी तालिम प्रदान गर्न सक्ने बताउनुभयो । जलन उपचारको नेतृत्व सुस्मा कोइराला अस्पतालले गर्न सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सुरुको समयमा दुर्गम क्षेत्रमा अस्पताल खोल्नका लागि निकै समस्या झेल्नुपरेको बताउनुभयो । सुरुको बेलामा देशभर नै जलनको उपचार नहुँदा उक्त अस्पताल स्थापना गरिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा चन्द्र भण्डारीले आफ्नो जीवनको महत्वपूर्ण २७ वर्ष नेपालका लागि दिएकोमा स्टाललाई धन्यवाद दिनुभयो ।
उहाँले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जर्मनीको सहयोगमा सञ्चालित उक्त अस्पतालले हालसम्म १५ हजार ३७५ जनाको निःशुल्क उपचार समेत गरिसकेको छ ।