रामेछाप, मंसिर १५ :

रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।  

काठमाण्डौँबाट बेतालीतर्फ आउँदै गरको ना१ ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका- ६ फर्पुमा दुर्घटना भएको हो ।

दुर्घटनामा गोकुलगङ्गा- ४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत सहित पाँचजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 

दुर्घटनामा जिप चालक मन्थली नगरपालिका- १० का ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगङ्गा- ५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  
 
दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा- ४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । 

अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।