काठमाण्डौं, मंसिर १६ :
बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको छ । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।