कालीकोट, मंसिर १७ :

उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट- जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ ।

सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट- जुम्ला सडक अन्तर्गत तिलागुफा नगरपालिका- ६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।

तिलागुफा नगरपालिका- ४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले यातायातका साधन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । 

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट- जुम्ला सडकको खल्लागाडबाट नाग्म बजारसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचल्ने उहाँले बताउनुभयो । 

आज आइतबार बिहान ५ः ०० बजेदेखि बेलुका ६ः ०० बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ ।

तिलागुफा नगरपालिका- ४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो ।