
फोटोः हुम्ला मतदान केन्द्रमा लामबद्ध मतदाता
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
हेटौँडा उपमहानगरपालिका- १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका- १२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णु ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।
यसैगरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्र सहित आठ जना तथा वडा नं. ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका- १ मा दुई हजार ६३५ र वडा- ४ मा एक हजार २८१ मतदाता छन् ।
दैलेखस्थित महावु गाउँपालिका- ५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगतकुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ ।
उक्त निर्वाचनमा सात उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको खबर प्राप्त भएको छ।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।