सर्लाही, मंसिर १७ :

सर्लाहीको बागमती नगरपालिका- ११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि उपभोक्ता मारमा परेका छन् ।

सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह अनिवार्य अवकाशमा गएपछि कार्यालयले नयाँ कार्यालय प्रमुख नपाउँदा उपभोक्ता मारमा परेका हुन् । 

उक्त कार्यालयले दुई जिल्लाका उत्तरी चुरे क्षेत्र तथा सिँचाइ सुविधा नपुगेका स्थानका किसानका लागि सिँचाइ विकासको योजना सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख नहुँदा आफूहरू मारमा परेको हरिवन नगरपालिका- ७ स्थित मनोकामना जल उपभोक्ता समितिका अध्यक्ष अशोक साहले गुनासो गर्नुभयो । 

रौतहटको यमुनामाई नगरपालिकास्थित सरुअठा जल उपभोक्ता समूहका अध्यक्ष आशुतोष यादवको पनि समस्या उस्तै छ । गत आर्थिक वर्षमा काम गर्न समूहले जम्मा गरेको पैसा अझै फिर्ता नभएको उहाँले  बताउनुभयो ।

चालू आवमा पनि सिँचाइको काम गर्न पाए खेतीबाली गर्न पाइने उहाँको आश छ । तर, कार्यालय प्रमुख नहुँदा नयाँ पुराना योजनाका काम हुन सकेको छैन्

उक्त कार्यालयले किसानलाई भूमिगत पानीलाई डिप बोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेलबाट पानी निकालेर सिँचाइ सुविधा प्रदान गर्दै आएको छ ।

हालसम्म भूमिगत सिँचाइ योजनाबाट सर्लाही र रौतहटमा गरी तीन हजार पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुगिसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रत्येक वर्ष नयाँ जडान, वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका लागि योजना ल्याउने गरेको छ । यस वर्ष पनि एक सय ४६ वटा योजना तोकिएर आएको कार्यालयका निमित्त प्रमुख तिर्हराज खरेलले बताउनुभयो ।