काठमाण्डौं, मंसिर १७ :

मलेसिया र छिमेकी मुलुक थाइल्याण्डमा भारी वर्षाका कारण आएको भीषण बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उत्तरी मलेसियामा एक लाख २२ हजारभन्दा बढी मानिस घर छोड्न बाध्य भएका छन् । दक्षिणी थाइल्यान्डमा करिब १३ हजार मानिस विस्थापित भएका छन् ।

भारी वर्षा र आँधीबेहरीको चेतावनी जारी रहेकाले यो संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

आपतकालिन सेवाका कर्मचारीहरूलाई फसेका बासिन्दाहरूको उद्धारमा सहयोग गर्न खटाइएको छ र आश्रयहरू प्रदान गरिएको छ।

यस हप्ताको सुरुमै सुरु भएको बाढीका कारण दुवै देशका हजारौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।सामाजिक सञ्जाल र स्थानीय समाचारमा देखाइएका भिडियोमा कार र घरहरू डुबेको र मानिसहरू कम्मरसम्म पानीमा डुबेको देखाइएको छ।

दक्षिणी थाइल्यान्डमा बाढीका कारण करिब पाँच लाख ३४ हजार घरधुरी प्रभावित भएका छन् ।  बाढीको पानीले स्वास्थ्य संस्थामा क्षति नपुगोस् भनेर दुई वटा अस्पताल बन्द गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण ६ वटा प्रान्तले विपत्ति घोषणा गरेका छन् ।