सिरहा, मंसिर १७ :

सिरहामा स्कारपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । 

नम्बर नखुलेको स्कारपियोको ठक्करबाट नेपाल- भारत सीमा नजिकै बडियारपट्टी- १ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । 

भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कारपियो ठक्कर दिँदा यादव घाइते भएका थिए । 

घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए । 

जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।