प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डौँबाट चितवन पुर्याएको छ ।
सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई हवाईजहाज मार्फत चितवन लगिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा घोटाला भएको विषयमा दायर पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।
अहिले आरोपितमध्ये प्रहरीका पूर्व डीआईजी जोशी र नेचर हर्ब्स सम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ ।
पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेको हिजो काठमाण्डौमा बयान सकिएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई गएको बिहीवार पोखराबाट काठमाण्डौँ ल्याइएको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइएको थियो । कात्तिक २ गते प्रहरीले पक्राउ परेका लामिछानेलाई अहिलेसम्म अदालतबाट ५ पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।