तनहुँ, मंसिर २१ :

तनहुँको व्यास नगरपालिका- ११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ ।

उक्त मार्गको बरभञ्ज्याङदेखि पड्के पसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो । 

बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारी साधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिनुभयो ।

उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारी साधन सञ्चालन गर्न सकिनेछ । उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ । बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो ।

सङ्घीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्र लगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताउनुभयो । व्यास नगरपालिका- ११ देखि भानु नगरपालिका- ६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा व्यास नगरपालिका- ११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ । 

हालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ ।