
पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।
वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्को जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो ।
अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्ने तर्फ विज्ञहरूले सचेत गराएका छन् ।
विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ । डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ ।
विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका छन् । यो क्रम अहिलेदेखि नै सुरु गर्नुपर्नेमा उहाँहरूको सुझाव छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो सम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो ।
तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको उहाँको भनाइ छ ।