कञ्चनपुर, मंसिर २२ :

हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । 

बेलौरी नगरपालिका- ७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । 

हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको चराविज्ञ डगौराले बताउँनुभयो । 

कञ्चनपुरमा भने पहिलोपटक देखापरेको हो । यो चरा यस क्षेत्रका लागि दुलर्भ नै भएको उहाँले बताउनुभयो । अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । 

यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ । घना रूख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोरल्ने गर्दछ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ ।