
औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले सहित पाँचजना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७८- ०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिद प्रकृयामा अनियमितता गरेको भन्दै प्रमुख बगाले सहित लेखा अधिकृत पुरूषोत्तम कुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र बिक्रेता कम्पनी हेल्पिङ्ग मल्टिपर्पोज प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद गौतम विरुद्ध आरोप पत्र दायर भएको हो ।
अख्तियारले आर्थिक वर्ष २०७८- ०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा चार लाख ६० हजार आठ सय १० रुपैयाँ अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारको ससर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरूको वास्तविक मूल्यभन्दा बढी मूल्य राखि खरिद गरेको र पाँच प्रकारका औषधीहरू पत्रिकामा प्रकाशित औषधीहरूको मूल्यसूची भन्दा बाहिरको औषधी खरिद गरेको उल्लेख गरेको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (क) बमोजिम करेक्स फर्मासिटीकल्स प्रालिले आव २०७८- ०७९ का लागि मिति २०७८ साउन १० गते राष्ट्रिय जन सवाल पत्रिकामा प्रकाशित दुई सय ३७ प्रकारका औषधीहरूको मूल्यसूची (दररेट) मा नबढ्नेगरी उक्त कम्पनीको आधिकारिक विक्रेता हेल्पिङ्ग मल्टिपर्पोज प्रालिसँग खरिद गर्नुपर्नेमा खरिद गरेका ३२ प्रकारका औषधीमध्ये १७ प्रकारका औषधीहरू उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको अनुसन्धानबाट खुलेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।