सु्नसरी, मंसिर २३ :

सुनसरीको हरिनगर गाउँपालिका- ४ स्थित ट्रिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको ट्रिपरले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका- ७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे । 

ट्रिपरको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै आज दिउँसो मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताउनुभयो । उक्त घटनापछि स्थानीयले ट्रिपर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो । 

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका- १६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सारीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।