काठमाण्डौँ , मंसिर २४ :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको छ। 

आइतबार बिहान ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लगातार तीन जित निकालेको जनकपुर र लगातार तीन हार खाएको लुम्बिनी आम्नेसाम्ने हुन लागेका हुन्।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्वमा मैदानमा हुनेछ।

पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठ आठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो। 

अपराजित जनकपुर ६ अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। समान अङ्क भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।

यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

आइतबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। अपराजित सुदूरपश्चिम ६ अङ्क सहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अङ्क सहित तेस्रो स्थानमा छ।